Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय हितमा एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की



विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका पक्षमा सबै एकजुट हुनुपर्ने बताएका छन्। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली सेनाको ‘हाइ कमान्डेड एन्ड म्यानेजमेन्ट कोर्स’मा सहभागी उच्च पदस्थ सैनिक अधिकृतसँग अन्तरक्रिया गर्दै उनले राष्ट्रिय हितका पक्षमा एकता भए विकास छिटो हुने र सुरक्षा चुनौती कम हुने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले विकास र सुरक्षा सँगसँगै अगाडि बढाउन सके समृद्धि सम्भव हुने बताएका छन्। उनले प्रदेश सरकार बनेपछि उल्लेखनीय विकास कार्य भए पनि प्रचारको अभावमा आलोचना भोग्नु परेको बताएका छन्।

प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष, पदमार्ग निर्माण र कृषिमा आधारित कार्यक्रमहरूले समृद्धि हासिल गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमले राष्ट्रिय पुँजीको विकाससमेत गर्ने बताएका छन्।

मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सम्पन्न गरेर देशको ध्यान कोशी प्रदेशतर्फ तानिएको भन्दै आगामी वर्ष चिया प्रवर्द्धनका लागि चिया सम्मेलन आयोजना गरिने जानकारी पनि दिएका छन्।

कार्यक्रममा सहभागी उच्च पदस्थ सैनिक अधिकृतहरूले प्रदेशको सुरक्षा चुनौती, संघीयता कार्यान्वयन र विकास निर्माणबारे विचार राखेका थिए। नेपाली सैनिक वार कलेजका उपरथी सन्तोष बल्लभ पौडेलले तालिमबारे जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार