राजविराज । सप्तरीको राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको छ। झडपपछि कार्यवाहक मेयर इसरत परविन तीन घण्टादेखि कार्यालयभित्र थुनिएकी छन्।
निलम्बित नगरप्रमुख भीमराज यादवले भ्रष्टाचारको आरोप लगाउँदै तीन दिनदेखि नगरपालिकामा तालाबन्दी गरेका थिए। तर आज उपमेयर परविनले ताला फोडेर यादवलाई पदभार ग्रहण गराउन खोज्दा तनाव उत्पन्न भएको हो।
झडपका क्रममा प्रदर्शनकारीले कार्यालयको सिसा फुटाएका छन् भने लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासलाई कुटपिट गरी घाइते बनाएका छन्। घाइते शत्रुधनलाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ।
डा। श्रवण साहको स्थानमा भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेपछि यस विषयमा विवाद चर्किएको हो। प्रहरी र सशस्त्र बलको बाक्लो उपस्थितिमा स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।