झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छिन । झापाको बिर्तामोडस्थित देवी माविको प्राङ्गणमा आजदेखि सुरु भएको कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले वैज्ञानिक दृष्टिकोणबाट मात्र समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिन ।
नेकपा एमाले कोशी प्रदेश समितिको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विज्ञान प्रविधि परिवर्तनको मूल आधार भएकाले सामाजिक, राजनीतिक, निजी क्षेत्र र राज्य सबैले यसमा लगानीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन ।
“विज्ञानलाई प्रयोगशालामै सीमित गर्न हुँदैन, यसलाई विकाससँग जोडेर लैजानुपर्छ,” पूर्वराष्ट्रपति भण्डारीले भनिन् , “विद्यालय तहबाटै वैज्ञानिक सोच र प्रविधिमा रुचि जगाउनुपर्छ।”
उहाँले विज्ञान तथा प्रविधिमा दक्ष जनशक्ति विकास नगरी मुलुकको दीगो समृद्धि सम्भव नरहने स्पष्ट पार्दै बालबालिकालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी, वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाउनु आवश्यक रहेको बताइन ।
उद्घाटन समारोहमा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राई, प्रदेश सचिव राजकुमार भण्डारी, देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले पनि सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व तथा शैक्षिक सरोकारवालाको उपस्थिति रहेको थियो।
कोशी प्रदेशका १२ जिल्लाबाट ७० वटा विद्यालय सहभागी भएको प्रदर्शनीमा विद्यार्थीहरूले आ–आफ्ना स्टलमार्फत वैज्ञानिक सामग्री र परियोजनाहरु प्रस्तुत गरिरहेका छन्। प्रदर्शनीको दौरान विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाले अवलोकन गरिरहेका छन्।
विज्ञान प्रदर्शनीमा उत्कृष्ट हुने विद्यालयलाई नगद पुरस्कार प्रदान गरिनेछ। विभागीय प्रमुख गणेश पोखरेलका अनुसार प्रथम हुने विद्यालयलाई चार लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र सान्त्वना पुरस्कारस्वरूप एक लाख रुपैयाँ प्रदान गरिनेछ।
यस प्रदर्शनी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।