विराटनगर । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बजारबाट प्रहरीले नक्कली नोट ९खोटा मुद्रा० सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ घर भई हाल झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा बसोबास गर्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् ।
प्रहरीका अनुसार काँकडभिट्टा स्थित नेपाल बैंक अगाडि शंकास्पद रूपमा हिँडिरहेका उनलाई चार दिनअघि नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनको साथबाट १ हजार दरका नक्कली नोट १ लाख रुपैयाँ बरामद गरिएको थियो । अनुसन्धानलाई अगाडि बढाउँदै प्रहरीले शुक्रबार भारती बसोबास गर्दै आएको कोठामा छापा मार्दा ठूलो परिमाणमा खोटा मुद्रा फेला परेको हो ।
प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गरिएको तलासीमा हजार दरका ४ लाख ७० हजार, पाँच सय दरका १ लाख ४१ हजार, एक सय दरका १९ हजार, पचास दरका ६ सय र बीस दरका ४ वटा नक्कली नोटसहित नोट छाप्ने मेसिन र विभिन्न प्रकारका रङहरू बरामद गरिएका छन् ।
पक्राउ परेका भारती आफैंले नोट छापेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। झापा जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले यसलाई ठुलो खोटा मुद्रा गिरोहसँग पनि जोडेर अनुसन्धान अघि बढाएको संकेत गरेको छ ।