Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रपति रनिङ शिल्डको उपाधि सुन्दरहरैंचालाई



विराटनगर । मोरङको विराटनगरस्थित सहिद रंगशालामा सम्पन्न अन्तरपालिका जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिकाले जितेको छ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा भएको प्रतियोगितामा ३१ स्वर्ण, १५ रजत र २ कांस्य पदक जित्दै सुन्दरहरैंचा प्रथम भयो। विराटनगर महानगरपालिका २४ स्वर्ण, १८ रजत र ६ कांस्यसहित द्वितीय र रतुवामाई नगरपालिका ३ स्वर्ण, ८ रजत र ८ कांस्यसहित तृतीय भयो। कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, उसु र कराँतेमा ७५० भन्दा बढी खेलाडी सहभागी थिए। ९८ जना खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन्। मोरङका १७ मध्ये ८ पालिकाको सहभागिता रहेको प्रतियोगितामा मिक्लाजुङसहित ९ पालिका सहभागी भएनन्।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत परशुराम, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठ, मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोखरेल, पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्व कार्यालय प्रमुख लवभक्त श्रेष्ठ, कोशी प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीदास भट्टराईले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार