विराटनगर । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्षदेखि प्रदेशका सबै १४ जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने भएको छ । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयको ओएनएम स्वीकृत गर्दै उक्त निर्णय गरेको हो ।
हाल कोशी प्रदेशमा सात वटा सहरी विकास कार्यालय र सात वटा पूर्वाधार कार्यालय सञ्चालनमा छन् । ती कार्यालय सबै जिल्लामा विभाजित थिएनन् । कतिपय जिल्लामा सहरी र पूर्वाधार दुवै कार्यालय थिए भने कतिपय जिल्लामा एउटै कार्यालयले दुई–तीन वटा जिल्लाको काम सम्हाल्नुपरेको थियो ।
अबको निर्णयअनुसार प्रत्येक जिल्लामा एउटा भौतिक पूर्वाधार कार्यालय रहनेछ । यसले गर्दा सेवाप्रवाह सहज, छिटोछरितो र प्रभावकारी हुने प्रदेश सरकारको दाबी छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार यसअघि सेवा प्रवाहमा ढिलाइ हुने, कार्यक्षमता कमजोर हुने समस्या देखिएको थियो । अब भने प्रत्येक जिल्लामा छुट्टै कार्यालय रहने भएकाले त्यसले विकास निर्माणका काममा तीव्रता ल्याउने उनले बताए ।