जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्रः एक सडक’ योजना अन्तर्गत ६४ सडक आयोजनाको एकैपटक विद्युतीय रूपमा शिलान्यास गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ अर्ब ७० करोड लागतका सडकहरूको शिलान्यास गरिएको हो।
ती सडकहरू तीन आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा २०० किलोमिटर सडक निर्माण भइसकेको र १२० किलोमिटर निर्माण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका निर्वाचन क्षेत्रहरूमा ५र५ किलोमिटरका दरले सडक निर्माण गरिनेछ।
कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी, मुख्यमन्त्री सतीशकुमार सिंह, मन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, सांसद जुली महासेठलगायतको उपस्थिति रहेको थियो।