धनकुटा । धनकुटाको लेउती खोलामा आएको बाढीले भत्काएको कोशी राजमार्गको भेडेटार–मुलघाट खण्ड पुनः सन्चालनमा आएको छ।
शनिबार बिहान बाढीले सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक ध्रुब नारायण श्रेष्ठका अनुसार खोलाले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरी एकतर्फी रूपमा सडक सन्चालनमा ल्याइएको हो।
सडक खुलेसँगै बिहानैदेखि रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू घण्टौँ अलपत्र परेका थिए। लेउती खोलामा पानीको बहाव अझै उच्च रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। यससँगै कोशी राजमार्गमा फेरि यातायात पुनः सुरु भएको छ।
यसैबीच कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण गरेका छन् । कोशी प्रदेश सरकारको तर्फबाट आज स्थलगत निरीक्षण गरी मन्त्री भण्डारीले सडक खुलाउने समन्वय गरेका थिए । उनले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरेको बताए । आज बिहान बाढीले मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात अवरुद्ध भए थियो ।
कोशी प्रदेश सरकारले वर्षा र बाढीको समय सुरु भइसकेकोले सबैलाई सजग रहन आग्रह समेत गरेको मन्त्री भण्डारीले बताए । उनले विपद व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी समेत गरेको जानकारी दिए ।