Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गृहमन्त्री गुनासो : ‘मेराविरुद्ध नियोजित षड्यन्त्र भइरहेको छ”



काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणलाई लिएर आफूमाथि नियोजित ढंगले राजनीतिक आक्रमण भइरहेको दाबी गरेका छन्। संसदमा विपक्षी दलको नाराबाजीका कारण बोल्न नपाएपछि उनले ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रपूर्ण छ र यसको क्रम अझै जारी रहने संकेतहरू देखिन्छन्।’

उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन पूर्ण रूपमा सार्वजनिक रहेको भन्दै यस्तो आक्रमणको कुनै आधार नभएको जिकिर गरे। ‘सार्वजनिक जीवन जिउँदै आएको मान्छे हुँ, सबै कुरा खुला छ,’ उनले भने।

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको स्पष्ट पारे। ‘अख्तियारको अनुसन्धानका आधारमा सामाजिक सञ्जाल र केही मिडियामा मेरो संलग्नताको आशंका झल्काउने खालका समाचारहरू आएका छन्, तर त्यो पूर्ण रूपमा असत्य हो,’ उनले दाबी गरे।

उनले जिम्मेवार ढंगले कानुनी प्रक्रिया अघि बढिरहेको बताउँदै संयमित र सत्य पक्ष प्रस्तुत गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। उनले आफू कानुनभन्दा माथि नरहेको पनि दोहोऱ्याए।

प्रतिक्रिया
सम्बन्धित समाचार