विराटनगर । कोशी प्रदेश सभा सदस्य गणेश उप्रेतीले सामुदायिक विद्यालयमा स्कुल बस प्रदेश सरकारले व्यवस्था गरिदिनु पर्ने बताएका छन् । आज कोशी प्रदेश सभाको बैठकमा बोल्दै उनले विद्यालयमा प्रदेशकै बालबालिका अध्ययन गरिरहेका छन् ।
उनीहरुलाई विद्यालय जान आउन सहज हुने भएको हुँदा प्रदेश सरकारले त्यसको व्यवस्था गर्नु पर्ने बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन सौन्दर्यकरण गर्न समेत आवश्यक रहेको र त्यसका लागि बजेट बिनियोजन गर्न माग गरे । उनले प्रदेश सरकारले प्रदेश भित्रका अधुरा अपुरा योजनाहरुलाई सम्पन्न गर्ने गरी बजेट ल्याउनु पर्ने उनले धारणा राखे ।
आगामी वर्षको बजेटमा विदेशबाट फर्किएकाहरुलाई यही उद्यम गर्नका लागि सहयोग गर्ने गरी कार्यक्रम ल्याउन समेत माग गरे । सांसद उप्रेतीले रिटर्नीलाई अड्याउने खालका कार्यक्रम ल्याउन माग गर्दै सबै सांसदहरुको अपनत्व हुने गरीको बजेट ल्याउन समेत आग्रह गरे ।