Symbolic Photo
रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास लिक भएर भएको आगलागीमा परी एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।आज बिहान पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर जडान गर्दा ग्यास लिक भई नजिकैको गोठमा बलिरहेको आगोले समातेर ठूलो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए।
घटनामा पर्शुरामका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादव गम्भीररूपमा घाइते भएका थिए। दुवैको शरीरको ठूलो भाग जलेको थियो। शिवकुमारको करिब ८५ प्रतिशत र सोनमको ७५ प्रतिशत शरीरको भाग जलेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीयको सहयोगमा उनीहरूलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो। त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। सोनमको भने भैरहवामै उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरी टोली घटनापछि इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेका अनुसार घटनाले विद्यालय परिवारलाई मर्माहत बनाएको छ। विद्यालयले शोक व्यक्त गर्दै आज शोक बिदा दिएको छ।