Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय विभूति र पूर्वराष्ट्रप्रमुखको जन्मघर र सम्पत्तिको संरक्षण प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेश सरकार राष्ट्रिय विभूति तथा राष्ट्रप्रमुख र प्रधानमन्त्री भइसकेका व्यक्तिहरूको जन्मघर तथा सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी लिन तयार रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशसभामा सम्बोधन गर्दै भने , ‘उहाँहरूको सम्पत्ति, जन्मघर हामी तपाईँहरूलाई दिन्छौं। संरक्षण गरेर राखियोस् भन्दा हामीले गर्ने कि नगर्नेरु गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यसमा कसैले विरोध गर्नुपर्ने कारण नै छैन।’

उनले राष्ट्रिय विभूति पासाङ लामु शेर्पा, पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल, मातृकाप्रसाद कोइराला, बीपी कोइराला, र गिरिजाप्रसाद कोइरालाजस्ता ऐतिहासिक व्यक्तित्वहरूको योगदान स्मरण गर्दै तिनको सम्पत्ति संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले कोइराला परिवारको योगदानको चर्चा गर्दै भने, ‘उहाँहरू एकै परिवारका तीन जना छोरा प्रधानमन्त्री बन्नुभयो। उहाँहरूको पिताजी कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध आन्दोलन सुरु गर्नुभएको थियो।’

उहाँले भने, ‘यदि उहाँहरूको परिवारले हामीलाई अधिकार दिनुभयो भने, हामी जन्मघर र सम्पत्तिलाई संरक्षण गरेर ऐतिहासिक सम्पदा बनाउने छौं।’

यो कार्यले ऐतिहासिक र राष्ट्रिय महत्वका व्यक्तिहरूको स्मृति संरक्षण हुने र यसलाई पर्यटकीय क्षेत्र बनाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार