विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मुलुकमा विपद् व्यवस्थापन झन् चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
विराटनगर जुटमिलको चौरमा आज आयोजित “हातेमालो–७” विपद् सिमुलेसन कार्यक्रममा जलवायु परिवर्तनको असर र विकास निर्माणका त्रुटिलाई विपद् व्यवस्थापनमा मुख्य चुनौतीको रूपमा चित्रण गर्दै उनले स्थानीय तहदेखि सुरक्षानिकाय र राष्ट्रसेवक कर्मचारीहरू सबैले जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले भने विपद्को बेलामा जनताको जीवनरक्षा नै राज्यको प्रमुख दायित्व हो। उनले प्रदेश सरकारले नीति, कानुन र संरचना निर्माण गर्दै सचेतना र साधन स्रोत विस्तारमा काम गरिरहेको जानकारी दिए।
झापा र मोरङमा विपद् व्यवस्थापन केन्द्र निर्माण भइरहेको उल्लेख गर्दै उनले तालीम प्राप्त सुरक्षाकर्मी, स्थानीय निकाय र प्रविधिको सहायताले विपद् न्यूनीकरण सम्भव हुने बताए।
कार्यक्रममा सेना, प्रहरी, रेडक्रस, स्काउटसहित ९० जनाको सहभागिता थियो।