Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मदन आश्रित स्मृति दिवसमा नेकपा एमाले विराटनगरद्वारा रक्तदान



विराटनगर  । ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) विराटनगर महानगर कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। विराटनगर–१२, पाञ्चालीस्थित पार्टी कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको एमाले विराटनगरका सचिव विज्ञान चापागाईंले जानकारी दिए।

रक्तदान कार्यक्रममा पार्टीका विभिन्न जनसङ्गठनका प्रतिनिधि, पदाधिकारी, सदस्य तथा वडा र टोल कमिटीहरूबाट उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरुलाई एमाले सल्लाहकार परिषद्का सदस्य विनोद ढकाल, सचिव चापागाईंलगायत नेताहरूले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

कार्यक्रममा पार्टी कार्यालय परिसरमा रहेको जननेता मदन भण्डारी लगायतको नेताको सालिकमा माल्यार्पण गरिएको थियो। एमाले महानगर अध्यक्ष बलराम गिरी, नेता विनोद ढकाल, सचिव चापागाईंलगायत पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका थिए ।

एमालेले प्रत्येक वर्ष मदन–आश्रितको स्मृतिमा विविध सामाजिक, रचनात्मक र जनकल्याणकारी कार्यक्रम गर्दै आएको छ। कार्यक्रमका नेताहरूले जननेता मदन भण्डारी र नेता आश्रितले देखाएको मार्गको स्मरण गर्दै समाज रूपान्तरणमा एमालेले लिएको अभियानमा अझ सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार