Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

५ लाख ७० हजार रुपैयाँ घुससहित इन्जिनियर यादव नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवा प्रवाहमा अनियमितता र भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ।

आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले यादवलाई खोटाङ जिल्लामा निर्माणाधीन सडक योजनाको रनिङ बिल भुक्तानीका लागि पाँच लाख सत्तरी हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीबाट बिहीबार नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यादवले निर्माण व्यवसायीसँग रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान गरिएको थियो। सोही सूचनाको पुष्टि भएपछि आयोगले निगरानी बढाउँदै आवश्यक प्रमाण संकलनका साथ प्रत्यक्ष कारबाहीको योजना बनाएको थियो। सेवाग्राहीले दिएको रकम बुझ्दै गर्दा यादवलाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ।

पक्राउ परेका यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको आयोगको भनाइ छ। प्रारम्भिक अनुसन्धानबाट सरकारी सेवा प्रवाहमा अनावश्यक ढिलाइ गर्दै सेवाग्राहीलाई जबर्जस्ती रकम तिर्न बाध्य पार्ने, भुक्तानीका फाइल रोकेर राख्नेजस्ता कार्यमा यादव संलग्न रहेको देखिएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक सेवामा संलग्न व्यक्तिहरुबाट हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई रोकथाम गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले निगरानी र कारबाहीलाई सशक्त रुपमा अघि बढाइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

पछिल्लो समय अख्तियारले निर्माण क्षेत्र, स्थानीय तह र ठेक्कासम्बन्धी सेवाहरूमा हुने भ्रष्टाचारजन्य गतिविधिलाई प्राथमिकताका साथ नियालिरहेको छ। यस घटनालाई समेत त्यसैको निरन्तरता स्वरूप हेर्न सकिन्छ।

हाल पक्राउ परेका यादवलाई आयोगको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ भने घटनासम्बन्धी थप विवरण आयोगले चाँडै सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार