विराटनगर । गृहमन्त्री रमेश लेखकले आज आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा सरकारको सुरक्षा र सुशासनलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताएका छन्। गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको यस गोष्ठीमा उनले सुरक्षा नभए सरकार र राष्ट्रको स्थायीत्व जोखिममा पर्न सक्ने कुरा उल्लेख गर्दै अपराध नियन्त्रणमा थप ध्यान दिनुपर्ने आवश्यकता व्यक्त गरे।
गृहमन्त्री लेखकले भने, ूलोकतन्त्रमा सरकारको सुरक्षा पहिलो शर्त हो र सुशासनका लागि सुरक्षा अनिवार्य शर्त हो।ू उहाँले सुरक्षा निकायलाई अपराधको सूक्ष्म अध्ययन गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्। उहाँले थप्नुभयो, ूराज्यको सुरक्षा र नागरिकको जीवन र धनको सुरक्षा राज्यको कर्तव्य हो।ू
सुरक्षा र सुशासन कमजोर भएमा जनतामा निराशा बढ्न सक्ने र त्यसले विकास प्रक्रियामा अवरोध ल्याउने गृहमन्त्रीले चेतावनी दिनुभयो। उनले राष्ट्रसेवक कर्मचारीहरुलाई इमान्दारीपूर्वक काम गर्न र जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आग्रह गरे।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजमा विकाससँगै सुरक्षामा थप चुनौती आएको बताउँदै जातीय र पहिचानवादी गतिविधिहरूले शान्ति सुरक्षामा असर पारेको उल्लेख गर्नुभयो। उहाँले कोशी प्रदेशलाई पुनः एकात्मक व्यवस्थामा धकेल्न नसकिने धारणा व्यक्त गर्दै प्रविधिको उपयोग गरेर अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई विशेष ध्यान दिन आवश्यक भएको बताए।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले खुला सीमाका कारण अवैध चोरी निकासीमा असर परेको बताउँदै यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता औंल्याए। यस गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरुको पनि सहभागिता रहेको थियो।