Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुद्धको दिव्य ज्ञान अँगालेर शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै विश्व शान्ति र विकासको खोजीमा गौतम बुद्धको दिव्य ज्ञान मार्गदर्शक बन्ने विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले आजको दिनले शान्ति, अहिंसा र सहअस्तित्वको सन्देश फैलाउने अवसर दिने भन्दै स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।

“सुन्दर र शान्त भूमि नेपालमा जन्मिएर बुद्धले देखाएको सत्य मार्ग अनुसरण गर्न सके संसार शान्तिको बाटोमा अघि बढ्न सक्छ,” उनले भने।

बुद्धको दर्शन विश्वका कुनाकुनासम्म फैलिन सके नेपाल मात्र होइन, सारा विश्वको प्रगति र समृद्धिमा योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरे। “शान्तिका प्रतीक बुद्धको जन्मभूमि नेपाल हुनु हाम्रो गौरवको विषय हो,” मुख्यमन्त्री कार्कीको भनाइ थियो।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको स्मरण गराउँदै बुद्धदर्शन हाम्रो राष्ट्रिय सम्पत्ति भएको उल्लेख गरे।

“बुद्धको विचारलाई फैलाएर हामीले समृद्धिको यात्रामा गति दिन सक्छौं,” उनले भने, “धार्मिक, सामाजिक र आपसी सद्भावलाई मजबुत बनाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन बुद्ध जयन्तीले टेवा पुर्‍याउँछ।”

मुख्यमन्त्री कार्कीले बुद्धका दिव्य ज्ञान, उपदेश र सत्मार्ग आत्मसात् गर्दै सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्नुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार