खोटाङ । श्रीमानको हत्या गरेको आरोपमा खोटाङकी एक महिला पक्राउ परेकी छन्। हलेसी तुवाचुङ नगरपालिका–९, माथिल्लो चिचिङ्गाकी ५३ वर्षीया रेनुका राईलाई आफ्ना श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, घरेलु विवादका क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए। घटनापछि प्रहरी चौकी अर्खौलेबाट खटिएको टोलीले शनिबार बिहान रेनुकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गम्भीर घाइते पाँचकर्णको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।