धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ। गुलाफ पार्कको अवधारणासहित एक रोपनी क्षेत्रफलमा मौसमअनुसार फुल्ने १८ जातका गुलाफ संकलन गरिएको छ।
गुलाफ खेतीलाई अभियानका रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए। “आगन्तुकको स्वागत र घरको सौन्दर्य वृद्धिका लागि प्रत्येक घरमा गुलाफको बगैँचा अनिवार्य गर्ने योजना छ,” उनले भने।
गुलाफ प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा सात लाख रुपैयाँ अनुदान दिएको छ। राजारानी, मुढेबास, सौरे र छनम्बर बुधबारे क्षेत्रहरू पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन्।
गाउँपालिकाकी उपाध्यक्ष टंकमाया पाङ्मी मगरका अनुसार गुलाफको व्यावसायिक उत्पादनबाट सजावट, उपहार तथा सुगन्धजन्य वस्तु उत्पादन गरी आयात प्रतिस्थापन र स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ।