Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भारतको ‘अपरेशन सिंदूर’ : पाकिस्तानमा पाँच स्थानमा आक्रमण, कम्तीमा ८ को मृत्यु



काठमाडौं ।  पाकिस्तानको भूमिमा भारतले ‘अपरेशन सिंदूर’ सञ्चालन गर्दै पाँचवटासम्म स्थानमा लक्षित सैन्य कारबाही गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, यो कारबाही २२ अप्रिलमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतङ्ककारी हमलाको प्रतिशोधमा गरिएको हो। उक्त हमलामा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले हमलाको दोष पाकिस्तानमा आश्रय लिएका आतङ्ककारी समूहहरूलाई दिँदै कारबाही अघि बढाएको हो।

भारतले पाकिस्तानको पंजाब प्रान्तस्थित बहावलपुर र पाकिस्तान–नियन्त्रित कश्मीरको मुजफ्फराबाद, कोटली लगायत क्षेत्रमा लक्षित आक्रमण गरेको हो। भारतीय सेनाले हवाई सीमा ननाघी सीमावर्ती क्षेत्रबाटै आधुनिक मिसाइल प्रविधिको प्रयोग गरी कारबाही गरेको बताइएको छ। भारतको दाबी अनुसार १७ जना आतङ्ककारी मारिएका छन् भने पाकिस्तानले ८ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ। पाकिस्तानको दाबीमा दुई भारतीय लडाकु विमान र एक ड्रोन खसालिएको उल्लेख छ, जसलाई भारतले अस्वीकार गरेको छ।

भारतीय सरकारका प्रवक्ताले कारबाहीलाई “न्यायोचित र आत्मरक्षा स्वरूपको कडो सन्देश” भएको जनाएका छन्। भारतले यो कारबाही केवल आतङ्ककारी पूर्वाधार लक्षित गरी गरिएको बताएको छ। यता, पाकिस्तानी सरकारका प्रवक्ताले भारतको कारबाहीलाई “अन्तर्राष्ट्रिय कानूनको उल्लंघन” भनेका छन् र उचित समयमा जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई संयम अपनाउन आग्रह गरेको छ। क्षेत्रीय अस्थिरता बढ्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार