Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको अवस्था गम्भीर



विराटनगर  । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

सोमबार दिउँसो कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा को १ ख २१७७ नम्बरको बस करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ तथा श्रेष्ठको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। साँगुरीगढी गाउँपालिका–६ का ६० वर्षीय हंशबहादुर राई र भोजपुर नगरपालिका–११ की ६० वर्षीया देवी विक गम्भीर घाइते भएका हुन्। अन्यको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार