विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मानव विकास सूचकांक बढाउने गरी तयार पारिने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको पाँचदिने लैङ्गिक हिंसा निवारणसम्बन्धी खोज पत्रकारिता तालिमको समापनमा बोल्दै उनले प्रदेश सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटिरहेको जानकारी दिए । आगामी वर्षको बजेटमा महिला हिंसा निवारणका कार्यक्रम र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न विशेष कार्यक्रम समावेश गरिने उनले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको मानव विकास सूचकांक ०. ५९८ रहेको छ, जुन मध्यम श्रेणीमा पर्छ। तालिममा ३० महिला पत्रकार सहभागी थिए भने विभिन्न सञ्चार विज्ञ तथा प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पूर्व महासचिव विवेक गौतम लगायतले तालिमबाट पाएको सिप व्यावहारिक रुपमा प्रयोग गरी अघि बढ्न सहभागीहरुलाई आग्रह गरे ।