विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको कोशी प्रदेश लगानी सम्मेलन २०८२ को पूर्वसन्ध्यामा आज प्रि–इनभेस्टमेन्ट मिट सम्पन्न भएको छ। दुई दिनसम्म चल्ने सम्मेलन भोलिदेखि (वैशाख १८) विराटनगरमा सुरु हुने छ।
आजको प्रिमिट कार्यक्रममा मुख्यमन्त्री हिक्मत कुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारी, साथै स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योगी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले लगानीकर्ताका लागि सहज वातावरण बनाउन ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकिएको बताए। मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनले कोशी प्रदेशको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै, लगानी सम्मेलनपछि पनि आवधिक रुपमा फलोअप मिटिङ गरिने उनले बताए।
उद्योगी तथा व्यवसायीहरूले जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावना देखिएको बताए। साथै कर प्रणाली र प्रक्रिया सम्बन्धी विषयमा चासो रहेको उल्लेख गर्दै झन्झटरहित वातावरण बनाइनुपर्ने सुझाव दिएका छन्।
मुख्यमन्त्री कार्कीले लगानी प्रक्रियामा आउने झन्झटहरू हटाउनेतर्फ प्रदेश सरकार गम्भीर रहेको पनि बताए। लगानीकर्तासँग निरन्तर समन्वय गर्न फलोअप मिटिङ प्रभावकारी हुने उनको भनाइ थियो।