विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनमा पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना सोकेसिङ गरिने कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । ती परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।
लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूको उपस्थिति रहनेछ। स्वदेशका प्रतिष्ठित उद्योगपतिहरूको समेत सहभागीता रहने बताइएको छ।
प्रदेश सरकारका अनुसार लगानीलाई प्रोत्साहन गर्न आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकिएको छ। संघीय सरकारसँगको सहकार्यमा अन्य कानुनी अवरोध हटाउने प्रयास भइरहेको बताइएको छ।
सम्मेलनमा कृषि र पर्यटनको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसरबारे विषयगत छलफलहरू सञ्चालन हुनेछन्। पहिलो दिनको मुख्य सत्रमा तीन तहका सरकारहरूबीचको समन्वय र लगानीमैत्री वातावरणबारे विशेषज्ञ तथा जनप्रतिनिधिहरूले धारणा राख्नेछन्।
प्रदेश सरकारले लगानी सम्मेलनलाई नतिजामुखी बनाउने उद्देश्यले सम्मेलनअघि प्री मिट तथा सम्मेलनपछि फलोअप मिटिङहरू सञ्चालन गर्ने रणनीति तय गरेको छ। परियोजनामा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने नीति लिइएको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए।
संघीयता कार्यान्वयनपछि प्रदेश सरकारको तहबाट पहिलोपटक आयोजना हुन लागेको यो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने प्रदेश सरकारले दाबी गरेको छ।