विराटनगर । कोशी प्रदेश सरकारले यही बैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनले प्रदेशमा लगानीको माहोल बनाउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ, कोशी प्रदेशले आयोजना गरेको ‘कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताए।
“सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ,” मुख्यमन्त्रीले भने, “लगानी गर्न चाहनेलाई वातावरण तयार गरिदिन्छौं। तर, कसैले हतोत्साहित गर्ने काम गर्नु हुँदैन।”
उनले केवलकारजस्तो विकास परियोजना कानुनभित्रै भए पनि रोक्न खोजिएकोमा आपत्ति जनाए। साथै, प्रदेश सरकारले स्वीस सरकारको सहयोगमा साना(मझौला उद्योगका लागि ५० लाखदेखि ३ करोडसम्म ऋणको व्यवस्था गर्ने र त्यसको ग्यारेन्टी सरकारले नै दिने पनि बताए।
“भारत हाम्रो ठूलो बजार हो, त्यसैले पर्यटनदेखि वस्तु–सेवासम्म लगानी गरेर आम्दानी बढाउन सकिन्छ,” उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीकर्तालाई हतोत्साहित गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै, “लगानीबाटै विकास, रोजगारी र आय हुन्छ,” भने।
उनले शिक्षा र स्वास्थ्यमा समेत निजी क्षेत्रको सहयोगले ठूलो परिवर्तन ल्याउन सक्ने बताए। “ईमान्दारीका साथ काम गर्यो भने धेरै सम्भावना छन्,” ढकालले थपे।
कार्यक्रममा पूर्वमुख्यमन्त्री उद्धव थापा, मन्त्री खगेनसिं हाङ्गाम, उद्योगी–व्यापारी र सरोकारवाला सबैले लगानी सम्मेलनलाई सफल बनाउनु पर्ने धारणा राखे ।