Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामाजिक सञ्जाल दर्ता नगरे प्रतिबन्ध लाग्छ : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयसीमाभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले नेपालमा क्रियाशील सबै सामाजिक सञ्जालहरूले मुलुकको कानुनी दायरा स्वीकार गर्नुपर्ने बताए। “अब दुई–तीन दिनमै म्याद सकिँदैछ, तर अहिलेसम्म दर्ता हुन कसैले चासो देखाएका छैनन्,” मन्त्री गुरुङको भनाइ थियो, “सरकारलाई बेवास्ता गरेर चल्न खोज्दा त्यसको परिणाम पनि भोग्नुपर्नेछ।”

उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन सञ्चार स्वतन्त्रता कुण्ठित गर्न नभई जिम्मेवार र मर्यादित सञ्चार सुनिश्चित गर्न ल्याइएको स्पष्ट पारे।

कार्यक्रमका क्रममा उनले चैत्र १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनप्रति पनि आक्रोश व्यक्त गरे। उक्त आन्दोलन संविधानविपरीत भएको र त्यसको नाममा हिंसात्मक गतिविधि गरिएको भन्दै गुरुङले संलग्नहरूलाई कारबाही गरिने बताए। “शान्तिपूर्ण विरोधको अधिकार सबैलाई छ, तर त्यसको आडमा हिंसा र अस्थिरता फैलाउने प्रयासलाई सरकार सहन सक्दैन,” उनले भने।

मन्त्री गुरुङले प्रविधिको दुरुपयोग हुँदै मुलुक, राजनीतिक शक्ति र जनताको मनोबल गिराउने प्रयास भइरहेको दाबी गर्दै त्यस्तो कार्यमा संलग्नमाथि कडा निगरानी गरिएको जानकारी पनि दिए।

महाधिवेशनका अवसरमा पत्रकार उषा लोहनी र डा। हरिकला अधिकारीलाई सञ्चारिका अग्रणी सम्मान प्रदान गरियो। त्यस्तै सञ्चारिका समानता पुरस्कार धनु विश्वकर्मा र स्व। उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपना कुमारी कर्णलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार