Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा



विराटनगर । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गर्न लागेको लगानी सम्मेलनको सबै तयारी पूरा भइसकेको छ। आज पत्रकार सम्मेलन गरेर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलनको तयारी पूरा भएको बताए ।

मुख्यमन्त्री कार्कीका अनुसार, सम्मेलनमा सोकेस गर्ने योजना, कानुनी अड्चन हटाउने प्रक्रिया, र नीति संशोधन जस्ता सबै कुरामा तयारी पूरा भइसकेको छ। उनले सम्मेलनमा मुख्य रूपमा पर्यटन, त्यसपछि उद्योग र सूचना प्रविधि (IT) क्षेत्रका परियोजनाहरू समेटिएको जानकारी पनि दिए।

कार्कीले भने, “संघीय सरकारसँग मिलेर कानुन तथा नीति संशोधन भइरहेको छ। अब लगानी भित्र्याउने बाटो खुल्ला भएको छ। यसले रोजगारी सिर्जना गर्छ, प्रदेशको आर्थिक विकास हुन्छ र राष्ट्रिय आय पनि बढ्छ।”

१ खर्ब ३९ अर्ब रुपैयाँको परियोजना सोकेस गर्न लागिएको यो सम्मेलनमा ५४ वटा योजना प्रस्तुत गरिनेछ।

सचेत भएर काम गर्दैछौं, कार्यान्वयनमा लैजान पनि तयार छौं – कार्कीले थपे।

पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले पनि कानुनी अड्चन फुकाउने काम तीव्र गतिमा भइरहेको जानकारी दिए। उनले भने, “८ वटा प्रदेश कानुन संशोधन र १ नयाँ कानुन बनाउने तयारीमा छौं। सम्मेलन पहिलोपटक हो, त्यसैले संघीय सरकार, स्थानीय तह र निजी क्षेत्रसँग मिलेर काम भइरहेको छ।”

मन्त्री भण्डारीका अनुसार, अब प्रदेशमा सार्वजनिक–निजी साझेदारी (PPP) अन्तर्गतका योजनाहरू सहज रूपमा कार्यान्वयन गर्न कानुनी र प्रशासनिक सहजता ल्याउने काम भइरहेको छ।

लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाले दिएको जानकारी अनुसार,

  • पर्यटनमा १५ वटा परियोजना (भौतिक पूर्वाधारमा १४),
  • कृषिमा ९ वटा उद्योग,
  • सूचना प्रविधिमा २,
  • र वेस्ट म्यानेजमेन्टमा २ वटा योजना सोकेस हुनेछन्।

होटल, रिसोर्ट, वाटर पार्क जस्ता आकर्षक योजना त छन् नै, संचालनमा भइसकेका केही परियोजनाहरू पनि देखाइनेछ।

अन्तमा, सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवन कुमार तिमिल्सेनाले भने, “सफल बनाउन सबै खाले समिति गठन भइसकेका छन्। नीति, कानुन, प्रशासन – सबै पक्षमा तयारी टुंगोमा पुगेको छ।”

प्रतिक्रिया
सम्बन्धित समाचार