विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ, तर उद्घाटन नहुँदै नेतृत्वका लागि दुई समूहबीच प्यानल तयार भइसकेको छ। सर्वसम्मत नेतृत्वका लागि प्रयास भइरहे पनि गुटगत राजनीतिका कारण महानगरमा प्रत्यक्ष प्रतिस्पर्धा हुने देखिएको छ।
मोरङ जिल्ला अधिवेशनमा विनोद ढकाल समूहले प्यानलसहित जित हासिल गरेपछि त्यसको असर महानगरमा पनि देखिएको छ। ढकाल समूहमार्फत महानगर सचिव बलराम गिरी ‘नवीन’को नेतृत्वमा प्यानल तयार पारिएको छ। गिरीले अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन्।
उता संस्थापन समूहबाट हाल अध्यक्ष रहेका रोहित कोइरालाले पुनः अध्यक्षमा दाबेदारी जनाएका छन्। मानगढ खानेपानी प्रकरणपछि सागर थापा लगायतलाई कारबाही गर्दै कोइरालालाई अध्यक्ष जिम्मेवारी दिइएको थियो। उनले आइतबार आफ्ना समर्थक र नेताहरुको उपस्थितिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
कोइराला समूहको प्यानलमा उपाध्यक्षका लागि वडा नम्बर ८ का वडाध्यक्ष राम पोख्रेल, सचिवमा नवराज काफ्ले, उप–सचिवमा कला डाँगी र चन्द्रशेखर विश्वासले मनोनयन दिने तयारी गरेका छन्।
गिरी समूहको प्यानलमा उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाईं र उप–सचिवमा हमिद आजादको नाम अगाडि सारिएको छ। महिला उप–सचिवका विषयमा भने अन्तिम निर्णय भइसकेको छैन।
अधिवेशनमा १९ वडाबाट २२० जना प्रतिनिधि चयन भएका छन् भने जनसङ्गठनमार्फत ७९ जना प्रतिनिधि छन्। त्यस्तै, वर्तमान कमिटीले थप १५ जनालाई मनोनीत गर्ने भए पनि हालसम्म ती प्रतिनिधि चयन भएका छैनन्।
दोस्रो अधिवेशनबाट १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गरिनेछ।