विराटनगर – उपाध्यक्षको उपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीको निर्णयमाथि उच्च अदालत विराटनगरले रोक लगाएको छ।
ग्रामथान उपाध्यक्ष गुणवतीदेवी थारूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै कामु मुख्यन्यायाधीश ध्रुवराज नन्दको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
सोमबार अध्यक्ष माझीले चीन भ्रमणमा जानुअघि उपाध्यक्ष गाउँपालिकामै हुँदाहुँदै वडा नं. ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक जिम्मेवारी दिएका थिए। यस निर्णयविरुद्ध उपाध्यक्ष थारू अदालत पुगेकी थिइन्।
अन्तरिम आदेशमा भनिएको छ, “उपाध्यक्ष पदमा रहँदै कार्यक्षमता प्रयोग गर्न नपाउने अवस्था सृजना भएकाले सुविधा सन्तुलन तथा कानुनको उचित प्रयोगको दृष्टिकोणले अन्तरिम आदेश जारी गरिनुपर्ने देखिन्छ।”
मंसिरको उपनिर्वाचनबाट माओवादीबाट विजयी भएका अध्यक्ष माझीको उपाध्यक्षसँगको सम्बन्ध राम्रो नरहेको बताइएको छ। चीन जानुअघि आफ्नो बिदाइमा समेत उपाध्यक्ष नआएको भन्दै उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।
यसअघि धरान उपमहानगरपालिका र झापा कमल गाउँपालिकामा पनि यस्तै खालको निर्णय अदालतले स्थगित गरिसकेको छ।