विराटनगर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्ष २०८२’ ले नेपालको समग्र अर्थतन्त्रलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरेका छन्।
तेह्रथुमको तिनजुरे–मिल्के क्षेत्रमा आज आयोजित भव्य कार्यक्रममार्फत पर्यटन वर्षको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले कोशी प्रदेशले पर्यटन क्षेत्रबाट विकास र समृद्धिको उदाहरणीय कार्य गरिरहेको बताए। उनले भने, “कोशी प्रदेशको मौलिक संस्कृति, प्राकृतिक सम्पदा र भौगोलिक विविधता पर्यटनको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ। यदि योजनाबद्ध तरिकाले प्रवर्द्धन गर्न सकियो भने यस प्रदेशले ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्छ।”
उपप्रधानमन्त्री सिंहले विशेष गरी भारतसँगको भू–नजिकतालाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। भारतबाट सहज आवागमन हुने भएकाले पर्यटक भित्र्याउने राम्रो सम्भावना रहेको भन्दै उनले प्रदेश सरकारलाई रणनीतिक योजना बनाउन सुझाव दिए।
“देशमा पछिल्लो समय देखिएको आर्थिक शिथिलता न्यूनीकरण गर्न पर्यटन एक प्रभावकारी माध्यम हो,” सिंहले बताए, “पर्यटनबाट मात्र होइन, यससँग गाँसिएका अन्य क्षेत्रहरू – कृषि, यातायात, होटल, हस्तकला – समेतले आय–आर्जनमा सकारात्मक प्रभाव पार्नेछन्। यसरी समग्र राष्ट्रको समृद्धि सम्भव छ।”
उनले संघीयता कार्यान्वयनसँगै स्थानीय, प्रदेश र संघीय तहको समन्वयमार्फत विकासले गति लिएको उल्लेख गरे। २०४६ सालपछि भएका विकास गतिविधिहरूको तथ्यांक हेर्दा मुलुकले उल्लेखनीय प्रगति गरिसकेको दाबी गर्दै उनले तथ्यलाई आधार मानेर मूल्याङ्कन गर्न आग्रह गरे।
“कतिपयले अनावश्यक रूपमा विकास भएको छैन भन्ने भ्रम फैलाउने प्रयास गरिरहेका छन्,” उपप्रधानमन्त्री सिंहले भने, “हामीले पूर्वाग्रह होइन, तथ्यमा आधारित भएर मूल्याङ्कन गर्नुपर्छ। विकासका कार्यहरू दृश्य छन्, जनजीवनमा यसको प्रभाव अनुभूत गर्न सकिन्छ।”
उनले कोशी प्रदेशको तिनजुरे–मिल्के जस्ता क्षेत्रहरू पर्यटनको केन्द्रविन्दु बन्न सक्ने उल्लेख गर्दै, यहाँका जैविक विविधता, हिमाली दृश्य, संस्कृति र जनजीवनले पर्यटकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका पदाधिकारी, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।