Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, आज सार्वजनिक बिदा



काठमाडौं । चैत्र शुक्ल नवमीका दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक रामनवमी पर्व मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीका पुत्रका रूपमा जन्मिएका भगवान् श्रीराम विष्णुको सातौं अवतार मानिन्छन्। धार्मिक विश्वासअनुसार पुनर्वसु नक्षत्र, कर्कट लग्न र पाँच ग्रहको दुर्लभ योगमा श्रीरामको जन्म भएको थियो।

वसन्त ऋतुमा पर्ने यो पर्वलाई वासन्तिक नवरात्रको नवौं दिन विशेष श्रद्धाका साथ मनाइन्छ। धर्मशास्त्रविद् डा। रामचन्द्र गौतमका अनुसार रामनवमी मर्यादित, अनुशासित र धर्मनिष्ठ राज्य र जीवन पद्धतिको प्रेरणा दिने पर्व हो। ूरामराज्यमा जस्तै आजका शासक र जनता पनि मर्यादित हुन सकून् भन्ने कामना यो पर्वमा गरिन्छ,ू गौतम भन्छन्।

आजको दिन विशेष गरी रामचन्द्रको पूजाआराधना, रामायण वाचन, भजनकीर्तन र व्रत बस्ने परम्परा छ। गाग्र्यतन्त्र, व्रतार्क र अन्य धर्मग्रन्थहरूमा रामनवमीको दिन व्रत, जप, पाठ गर्नाले मनोकामना पूरा हुने र वैकुण्ठ प्राप्त हुने उल्लेख छ।

नेपालको जनकपुर, भारतको अयोध्या लगायतका राम मन्दिरहरूमा विशेष मेला तथा रामलीलाको आयोजना गरिएको छ। जनकपुरस्थित रामजानकी मन्दिरमा आज विशेष भीड लागेको छ।

रामले सत्य, मर्यादा र धर्मको मार्ग अपनाउँदै राक्षसी प्रवृत्तिको अन्त्य गरेका थिए। सीतासँगको विवाह, वनवास, रावणवध र रामराज्य स्थापनाजस्ता घटनाले उनलाई ुमर्यादा पुरुषोत्तमु बनाएको धार्मिक विश्वास छ।

रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार