Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जागरण अभियान अन्तर्गत एमाले विराटनगरद्वारा सरसफाई



विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैतदेखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ।

विराटनगरको तीनपैनीमा भेला भएका एमालेका नेता तथा कार्यकर्ताहरूले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका छन्।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य तथा विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापालगायतका नेताहरू सहभागी थिए। साथै, विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो।

सरसफाई कार्यक्रम महानगरपालिकाको कार्यालय अगाडि पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा विराटनगर महानगरका अध्यक्ष रोहित कोइरालाले पछिल्लो समय राजावादीको नाममा भइरहेका गतिविधि स्वीकार्य नहुने बताए।

उनले ठूलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थाभन्दा उत्तम कुनै पनि व्यवस्था हुन नसक्ने भन्दै मरिसकेको राजतन्त्र ब्यूँताउने असफल प्रयास गरेर देशमा अशान्ति फैलाउन चाहनेहरूलाई परास्त गरिने बताए।

‘देशमा अशान्ति मच्चाउन खोज्ने मण्डलेहरू र अराजक झुण्डहरू बेलैमा सच्चिन,’ उनले भने, ‘नत्र टाउको उठाउन नसक्ने दिन आउँछ।’

महानगरका सचिव बलराम गिरीले नेकपा एमाले रचनात्मक गतिविधिसहित जनताको घरदैलोमा पुगिरहेको बताए। उनले सोमबार दिउँसो १ बजे जनआन्दोलन चोकमा आयोजना हुने जागरण सभामा हजारौंको सहभागिता रहने गरी तयारी गरिएको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार