विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन्।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको ‘सञ्चार माध्यमको सबलीकरणमा स्थानीय सरकारको भूमिका’ विषयक कार्यक्रममा मन्त्री भण्डारीले सुशासनका लागि बलियो मिडिया आवश्यक रहेको धारणा व्यक्त गरे। “लोकतन्त्र कमजोर हुँदा गणतन्त्र विरोधीहरू सक्रिय हुन सक्छन्,” मन्त्री भण्डारीले भने।
उनले कोशी प्रदेश सभामा पेश भएको सञ्चार विधेयक चालू आर्थिक वर्षभित्रै सर्वसम्मत रूपमा पारित गरिने जानकारी गराए।
कार्यक्रममा मोरङका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति थियो। महासंघले सञ्चार माध्यमको सबलीकरणमा स्थानीय सरकारको भूमिकाबारे कोशी प्रदेशका १४ वटै जिल्लामा कार्यक्रम सुरु गरेको जनाएको छ।