विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाधार नीति बनाएर काम गरे मात्र विकास टिकाउ हुने बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रममा उनले सरकारका वार्षिक कार्यक्रम र आवधिक योजनाहरूबीच तालमेल मिलाउन नीतिगत व्यवस्था आवश्यक रहेको बताए।
जलवायु परिवर्तनका कारण विकास निर्माणले विपत्ति निम्त्याउन सक्ने भएकाले वैज्ञानिक नीति आवश्यक रहेको उनको भनाइ छ। सडक र पुलहरू छिट्टै भत्किने अवस्थाले पनि नीति जरुरी रहेको औँल्याउँदै उनले पूर्वाधार नीति राम्रो बनाउन सके मात्र दीर्घकालीन विकास सम्भव हुने उल्लेख गरे।
विपत्ति र जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राखेर नीति बनाउनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री, सचिव तथा विज्ञहरूको सहभागिता रहेको थियो।