Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न उच्च अदालतको आदेश



विराटनगर ।  उच्च अदालत विराटनगरले विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि पुनः मतदान गर्न आदेश दिएको छ।

गत जेठ १९ गते सम्पन्न निर्वाचनमा विवाद उत्पन्न भई सबै मतदाताले मतदान गर्न नपाएपछि मतगणनासम्बन्धी विवाद अदालत पुगेको थियो। खसेको मत नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेलसहित तीन जनाले उच्च अदालतमा रिट दायर गरेका थिए। त्यसैगरी, टंकप्रसाद खतिवडासहित तीन जनाले भने पुनः मतदानको माग गर्दै छुट्टै रिट दिएका थिए।

सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडासहितको मागअनुसार पुनः मतदान गर्न आदेश जारी गरेको हो। अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार मतदान प्रक्रिया १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः सुरु हुनेछ। उम्मेदवार पुरानै रहने तर मतदान मात्रै दोहोरिनेछ।

विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्वका लागि रामबहादुर घिमिरे र लालमणि भट्टराई प्रतिस्पर्धामा छन्। दुबै जना नेकपा (एमाले) का स्थानीय नेता हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार