विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकले मंगलबारको प्रदेशसभा बैठकमा सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको थियो ।
एमाले कोशीका प्रमुख सचेतक विदुर लिङ्थेपले कार्यकारी प्रमुखले सम्बोधन गर्ने भएकाले अनिवार्य उपस्थिति हुन भनिएको बताए ।
कांग्रेसले पनि सबैलाई बैठकमा सहभागी हुन निर्देशन दिएको प्रमुख सचेतक गोपाल तामाङले बताए । प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा सबैलाई सहभागी हुन निर्देशन गरिएको उनको भनाइ छ ।
तर, प्रदेश सभामाका राप्रपाबाहेकका विपक्षी दलहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राजालाई गाली गरे नियमापत्ति जनाउने राप्रपाले जनाएको छ । प्रधानमन्त्रीले राजालाई होच्याएर गाली गरे नियमापत्ति जनाउने प्रमुख सचेतक सविना बजगाईँले बताइन् । माओवादी र एकीकृत समाजवादीले पनि दुई वटा सर्त राखेका छन् । पाथिभरा (मुकुम्लुङ)को र कोशी नामकरणको विषयमा नबोल्ने प्रतिबद्धता मुख्यमन्त्री हिक्मत कार्कीले राखे मात्रै बैठकमा आउने उनीहरूको भनाइ छ ।