विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा ९७ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत डिल्लीराम घिमिरेका अनुसार, बिहान १० बजे सुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको हो ।
अधिवेशनमा ९११ जना प्रतिनिधि रहे पनि ८८८ जनाले मतदान गरेका छन् भने २३ जना अनुपस्थित रहे। मतदान विराटनगरस्थित होटल मनास्लु इनमा भए पनि मतगणना पार्टी कार्यालय विराटनगर पाञ्चालीमा भोलि बिहानदेखि सुरु गरिने छ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्ष र इतर समूहबीच प्यानलगत प्रतिस्पर्धा छ। संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा तथा उपसचिवद्वयमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी प्रतिस्पर्धामा छन्। इतर समूहबाट भने अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवद्वयमा सन्तोष बान्तवा र उषा झा (ठाकुर) उम्मेदवार छन्।
अधिवेशनमा ३२५ जनाले मनोनयन दर्ता गराएका थिए। तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ।