काठमाडौं । काठमाडौंको थापाथलीमा मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध भएको छ। बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ। पाइप फुटेपछि ठूलो फोर्समा पानी निस्किँदा सडक भत्किएको छ भने सडकपेटीमा समेत क्षति पुगेको छ।
सडकभरि हिलो, ढुंगा र गिट्टी छरिएर आवतजावत प्रभावित बनेको छ। वरपरका रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरूमा पानी पस्दा केही पसल तथा रेष्टुरेन्टहरू जलमग्न भएका छन्।
पत्रकार गोविन्द खड्काले सामाजिक सञ्जालमा ‘मेलम्चीको पाइप फुटेर बिहान थापाथली क्षेत्रमा आपत १’ भन्दै एक भिडिओ सेयर गरेका छन्। पाइप फुटेको जानकारी पाउनेबित्तिकै सम्बन्धित निकायले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति भने हुन पाएन।
यसअघि पनि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा सडक डुबानमा परेको थियो। बारम्बार पाइप फुट्ने घटनाले मेलम्ची परियोजनाको गुणस्तर र व्यवस्थापनप्रति गम्भीर प्रश्न खडा भएको छ।