विराटनगर । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोमबार विराटनगर–१५, चाइना मार्केटमा शंका लागि चेकजाँच गर्दा ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
उनीहरूलाई चेकजाँचका क्रममा साँझ साढे ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, बिहार राज्यको अररिया जिल्ला, फारबिसगंज–७ का अर्जुन मल्लिक, विराटनगर–१७ का साईनम गुरुङ र लेटाङ–३ का नविन तामाङलाई शंका लागि चेकजाँच गर्दा ४० दशमलव १४ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगरसहित २ थान मोबाइल सेट पनि प्रहरीले नियन्त्रणमा लिएको छ।