विराटनगर । नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशन विराटनगरमा सुरू भएको छ। उद्घाटन सत्रमा शीर्ष नेताहरूले पार्टीभित्र एकता आवश्यक रहेको र सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले गुटबन्दी नगरी सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरे। उपमहासचिव प्रदीप ज्ञवालीले आन्तरिक लोकतन्त्र बलियो बनाउन सर्वसम्मति आवश्यक रहेको बताए।
प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, मोरङ इन्चार्ज जीवन घिमिरेलगायत नेताहरूले पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
९१४ जना प्रतिनिधि सहभागी अधिवेशनले १६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ। अधिवेशन फागुन १९ गतेसम्म सञ्चालन हुनेछ।