Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निजी विद्यालय तत्काल हटाउन सकिँदैन: मुख्यमन्त्री कार्की



धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निजी विद्यालयहरू तत्काल हटाउन सम्भव नभएको स्पष्ट पारेका छन्।

शनिबार धरान उपमहानगरपालिका–१५ स्थित शिक्षासदन स्कुलको ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै उनले कानुनी प्रक्रिया अनुसार सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई हटाउँदा विद्यार्थीहरूको भविष्य प्रभावित हुने बताए।

मुख्यमन्त्री कार्कीका अनुसार निजी विद्यालयहरूले हालको शिक्षामा ३० प्रतिशतभन्दा बढी लगानी गरिरहेका छन् र सरकारी विद्यालयभन्दा राम्रो शैक्षिक गुणस्तर प्रदान गरिरहेका छन्। “सरकारी विद्यालयहरूले गुणस्तर सुधार्दै निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सके, निजी विद्यालयहरू आफैं हट्नेछन्,” उनले भने।

सरकारले सरकारी विद्यालयहरूको सुधारका लागि ठूलो लगानी गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विद्यालय भवन निर्माण, पाठ्यपुस्तक उपलब्धता, शिक्षक तलब तथा छात्रवृत्तिजस्ता क्षेत्रमा व्यापक खर्च भइरहेको बताए। विद्यालय व्यवस्थापन समितिहरूले आफ्नो जिम्मेवारी सही रूपमा निर्वाह गर्न सकेमा सरकारी विद्यालय पनि निजी विद्यालयभन्दा कम नहुने उनको भनाइ थियो।

यसै अवसरमा मुख्यमन्त्री कार्कीले धरानको प्रमुख समस्या पानी रहेको उल्लेख गर्दै प्रदेश सरकार यसको समाधानमा प्रतिबद्ध रहेको बताए। उनले गत वर्ष चारवटा डिप बोरिङ निर्माण गरिएकाले केही सहज भएको जनाउँदै समस्या दीर्घकालीन रूपमा हल गर्न संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विजय राई, यशोदा कायस्थ, पूर्व सांसद जयकुमार राई, धरान–१५ का वडाध्यक्ष नरेश ईवारम, शिक्षासदन स्कुलका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेहेन्दार, दलित तथा प्रथम भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार