विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप भएको छ । झडपमा परी नेविसंघका जिल्ला सभापति सरोज पोखरेलसहित दुई जना घाइते भएका छन् ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै आज बिहानै क्याम्पस पुगेका थिए । आफूहरुको स्वीकृति बिना क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले वञ्चरो, तरवार र लाठीले प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । स्ववियु सभापति रहेका पौडेल देउवा समूहका हुन् । पोखरेल भने कोइराला पक्षका हुन् । घाइते दुवैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आक्रमण उत्रिनेहरुमा जसवन्त पौडेलसहित, स्ववियु सचिव सनिम ठकुरी, सदस्यहरु प्रशान्त यादवलगायतको टोली संलग्न रहेको बताइएको छ । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले बताए ।