विराटनगर । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरुको विकास र संरक्षण गर्ने बताएका छन् ।
सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनतासँग माओवादी तराई मधेश जनजागरण अभियानले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरी त्यसको विकास एवं प्रवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्नु मुख्य उद्देश्य रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएको अध्यक्ष दाहालले अभियान अन्तर्गत झापाको किचकवधलगायतका अन्य क्षेत्र, मोरङको कानेपोखरी क्षेत्र वरिपरीक्षेत्रको ऐतिहासिक स्थलको विकासको कार्यसुचि समेत निर्माण गरेको बताए ।
उनले आफु गणतन्त्र नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण गराए ।
अध्यक्ष दाहालले यस तालको संरक्षण , थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहाललाई ताल सरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकासका लागि एक ज्ञापनपत्र बुझाएका थिए ।