विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको माध्यमबाट आर्थिक समृद्धि गर्न सकिने बताएका छन् । आज महाशिवरात्रि पर्व २०८१ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको बताए ।
मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमार्फत भगवान् शिवको महिमा र नेपालको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।
“नेपालको पवित्र पाशुपत क्षेत्र तथा अन्य धार्मिक स्थलहरूको उचित संरक्षण र प्रवर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध छ,” शुभकामना सन्देशमा उल्लेख छ। साथै, मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरिसकेको जानकारी गराउँदै यस अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
महाशिवरात्रि पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले नेपाली समाजलाई थप मेलमिलाप, सहकार्य र भाइचाराको भावना विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
महाशिवरात्रीमा मनाइने सैनिक दिवसको अवसरमा पनि शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले नेपाली सेना तथा सुरक्षाकर्मीहरूको योगदानको उच्च प्रशंसा गरे । मुख्यमन्त्री कार्कीले महाशिवरात्रिको पावन अवसरमा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।