Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

महिला बेचबिखनको जोखिम झन बढ्दो, रानी नाकाबाट एक वर्षमा दुई सय दुई महिला फिर्ता



विराटनगर । माइती नेपालले मोरङको रानी नाकाबाट एक वर्षमा २०२ जना जोखिममा रहेकाहरूको फिर्ता गरेको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध माइती नेपालले २०२४ मार्चदेखि २०२५ फेब्रुअरी १० सम्मको वार्षिक सफलता तथा चुनौतीको बारेमा पत्रकारसँग भएको छलफलमा एक बर्षे प्रतिवेदन सार्वजनिक गरेको हो । जोखिममा रहेर सीमावर्ती नाकाबाट फिर्ता गरिएकाहरू २०२ जना रहेका छन् । माइती नेपालले ३ जनालाई भारतको कटिहारबाट फिर्ता गरिएको हो ।
हराएर आएका ३४ जनाको निवेदन मध्ये ७ जना भेटिएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । जोखिममा रहेर फर्काइएका २०२ जना मध्ये जनजाति ५२ जना, मधेसी ४८, ब्राह्मण क्षेत्री ३६ जना, चौधरी र राजवंशी ३६, दलित २८ जना र २ जना मुस्लिम समुदायका रहेको पोखरेलले जानकारी दिए ।

सुनसरीका ४४ जना, झापाका १५ जना रहेका छन्, अरू उदयपुरका ८, सिराहा र सप्तरीका ५ ५ जना रहेका छन् । खोटाङ, धनकुटा, तेह्रथुम, इलाम, सिन्धुपाल्चोक, भोजपुर, पाँचथर, संखुवासभा, सर्लाही, सल्यान, दोलखाका समेत उद्धार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

भारतको दार्जिलिङ सहित नेपालका २३ जिल्लाका जोखिममा परेकालाई विराटनगरबाट उद्धार भएको पोखरेलको भनाइ छ । गत वर्ष २२ जिल्ला रहेकोमा यो वर्ष नयाँ दुई जिल्ला थपिएको बताए ।

सामाजिक सञ्जालको प्रयोग गर्ने र किशोरी एक्लै सीमा पार हुने गरेको नयाँ प्रयोग हुने गरेको पनि माइती नेपालले जनाएको छ । त्यस्तै नेटवर्किङबाट धेरै तेस्रो देश जाने, अकेष्ट्रहरू नाच्न लगाउनेहरू दैनिक जस्तो आउने गरेको तथा दैनिक ५०० भारु पाउने हुँदा जानेको आकर्षण रहेको बताए ।

कामको सिलसिलामा जानेहरूको सङ्ख्यामा पनि बढोत्तरी भएको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिइन्। विराटनगर महानगरपालिकासँगको समन्वयमा पैदल यात्री, ट्याक्सी, रिक्सा र सीमाबाट सचेतना फैलाउने गरेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार