काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवम् सरोकारवालासँग हिजो बेलुका भएको छलफलमा गृहमन्त्री लेखकले आपसी सहमतिबाटै समस्या समाधान गर्न सकिने भएकाले सबै पक्ष गम्भीर हुन आग्रह गरे । समस्या समाधान खोज्न सरकार पनि गम्भीर रहेको उनले बताए ।
यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि हिजो बेलुका गृहमन्त्रीसँग भेटघाट र छलफल भएको हो ।
भेटमा एमालेका नेता योगेश भट्टराईसहित आदिवासी जनजातिका नेताहरूको सहभागिता रहेको थियो । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग भएको छ ।
वार्ता र सहमतिबाटै निकास निकाल्न मन्त्री लेखकले आग्रह गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका छन् ।
उनीहरुले थप आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । सरकारसँग भएको वार्ता र संवाद निष्कर्षविहीन भएपछि ताप्लेजुङ्गको फुङलिङ नगरपालिकासहित सरोकारवालाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा अगाडी बढ्न आग्रह गरेका छन् ।