Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो, तयारी अन्तिम चरणमा



विराटनगर । मोरङको सुन्दरहरैचामा सार्वजनिक शौचालय निर्माणका लागि सुन्दर हरैँचा विराट एक्स्पो आयोजना गरिने भएको छ ।

सुन्दरहरैचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ३० देखि फागुन १० गते सम्म विराट एक्स्पोको चौथो संस्करण आयोजना गर्न लागिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले बताए ।

आज सुन्दरहरैँचाको विराटचोक स्थित एक्स्पो स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक दुलालले एक्स्पोको आम्दानीबाट सुन्दरहरैचामा पुस्तकालयसहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने बताए ।

यसअघि ०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माणको अन्तिम चरणमा रहेको र अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको दुलाले बताए । सुन्दरहरैचा औद्योगिक प्रर्दशनी केन्द्र, विराटचोकमा हुने एक्स्पोमा १९४ वटा स्टल हुने सुन्दरहैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए ।

कोशी पर्यटन वर्ष २०८२ को सन्दर्भमा पर्यटनको पुर्नविचारः कोशी प्रदेशमा स्थानीय संलग्नताको प्रर्बद्धन, एआई, स्टार्टअप, साईवर सुरक्षाका विषयमा छलफल समेत हुने छ । एक्स्पोको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार