Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्काउटले असल नागरिक निर्माण गर्दै राष्ट्रसेवाको भावना बढाएको छ : मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल नागरिक निर्माण गरी उनीहरुलाई राष्ट्रसेवामा समर्पित हुन प्रेरित गरिरहेको बताएका छन् ।

चौथो कोशी प्रदेश ज्याम्बोरेटको आज विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले आफ्नो भूमिका निर्वाह गरिरहेको बताए । मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद्का एवं महामारीका समयमा स्काउटका स्वयंसेवकले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशका सम्पूर्ण वडा तथा सबै विद्यालयहरुमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिए । उनले स्काउटलाई राजनीतिबाट टाढा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझाव दिएका छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र बौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हनुपर्ने विचार राख्नु भयो । कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, समाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले समाजको विकास एवं अनुशासन स्काउटको महत्वपूर्ण भूमिका हुने चर्चा  गरे ।

तीन दिने कोशी प्रदेश ज्याम्बोरेटमा ६७ वटा पालिकाका विभिन्न विद्यालयका पाँच हजार स्काउटका विद्यार्थीहरु सहभागी छन् । ज्याम्बोरेटमा विद्यार्थीहरुले कलाकौशल, प्रतियोगिता र मनोरञ्जनात्मक कार्यमा भाग लिने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार