विराटनगर । नीतिहरु बनाउदा पक्ष र प्रतिपक्ष नभइ देशको हितलाई हेरेर बनाउन सबैले सहयोग गर्नुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
आज विराटनगरमा औद्योगिक नीति २०८१ सम्बन्धि अन्र्तक्रियामा बोल्दै उनले नीति बनाउँदा सत्तापक्ष र प्रतिपक्षको धारणा फरक हुने गरेको बताए । दीर्घकालिन हितका लागि बनाइने यस्ता नीतिहरु सत्तामा हुँदा र नहुँदा फरक धारणा राख्न नहुने उनको भनाइ छ ।
संघीय उद्योग मन्त्रालयको आयोजनामा भएको अन्र्तक्रियामा बोल्दै उनले नयाँ उद्योग नीति, नेपाललाई नयाँ युगमा प्रवेश गराउन सक्ने हुनु पर्ने धारणा राखे । उद्योगी व्यवसायीलाई सहज हुने र स्थानीय कच्चा पदार्थमा आधारित हुने उद्योगहरुलाई प्रोत्साहन दिने गरी अघि बढ्न उनले सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले दुई ठुला मुलुक भारत र चीनका पर्यटकलाई लक्षित गर्दै पर्यटन उद्योगलाई सहज हुने गरी नीति बनाउन समेत सुझाव दिए ।