विराटनगर । कोशी प्रदेशमा आजदेखि सुरु भएको एचपीभी खोप अभियानमा लक्षित वर्गका बालिकाहरु कोही पनि नछुट्ने गरी काम गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आग्रह गरेका छन् ।
पाठेघरको मुखको क्यान्सर एचपीभी ( ह्युमन प्यापिलोमा भाईरस) विरुद्धको खोप अभियान २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले एक जना किशोरी छुटेमात्रै पनि यसले समाजमा नकरात्मक असर गर्ने भन्दै विशेष ध्यान दिन आग्रह गरे । आज कोशी प्रदेश स्तरीय एचपीभी खोप अभियानको सुनसरीको बर्जु गाउँपालिकामा रहेको रामसीता माध्यमिक विद्यालयमा उद्घाटन गर्दै उनले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको बताए ।
प्रदेशबासीको स्वास्थ्य नै पहिलो दायित्व रहेकोमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै उनले सबै खाले खोपहरुलाई नियमित बनाउने समेत बताए । मुख्यमन्त्री कार्कीले सबैलाई ढुक्क भएर खोप लगाउन समेत आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले खोप अभियानमा लक्षित उमेर समूहका कुनै पनि किशोरी छुट्न नहुनेमा जोड दिए । अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ ।
एचपीभी विरुद्धको खोप अभियान कोशी प्रदेशमा आजदेखि फागुन ७ गते सम्म सञ्चालन हुँदै छ । अभियानमा अभियानको आरम्भ कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुनसरीको बर्जुमा रहेको रामसीता माध्यमिक विद्यालयबाट गरेको हो ।